Rani Pokhari - Sharadhanagar, West Chitwan

Rani Pokhari - Sharadhanagar, West Chitwan

चितवनमा निकुञ्ज बाहेक घुम्ने अरु ठाउँ पनि छन्। त्यस्तै एउटा गन्तव्य हो रानीपोखरी। पश्चिम चितवनको चित्रवन नपा–४ शारदानगर किरणगञ्जको पोखरीमा डुंगा सयरको मज्जा लिन पाइन्छ।

धेरै पहिल्यै पोखरी निर्माण भएको स्थानीय बताउँछन्। वरपर कतै वस्ती नभएको समयमा घुम्दै आउने कुनै राजाले पोखरी बनाएको अनुमानका आधारमा त्यसको नाम रानी पोखरी राखेको अनुमान छ। केही वर्षअघिसम्म पोखरी गाइवस्तुले पानी खाने र आहाल वस्ने ठाउँ मात्रै बनेको थियो।

Rani Pokhari - Sharadhanagar समय बदलियो, स्थानीयले त्यहाँ पर्यटनको सम्भावना देखे। समिति बनाएर पोखरी सिंर्गान सुरु गरे। पुर्वाधार थप्दै गए। आज डुँगा सयर सुविधासम्म थपिसकेका छन्।

पोखरीका माछा खान थरी थरीका बकुल्ला झुम्मिन्छन्। अरु शिकारी चरा पनि पौडी खेल्छन्। चरा अवलोकन गर्न पनि पोखरी राम्रो गन्तव्य बन्न सक्छ। रुख, बिरुवा र थुम्का टन्नै भएको पोखरीको डिलैडिल घुम्दा मन रमाउँछ। वरपर गाउँको दृश्य पनि लोभलाग्दो छ।

मनसुनमा पुरै गाउँ हरियो च्यादर ओढेर बसेझैं देखिन्छ। पोखरी संरक्षण गर्न स्थानीयले १४ वर्षअघि रानी पोखरी विकास तथा संरक्षण समिति गठन गरेका थिए। समितिले डुंगा चलाएको हो। दुई बिघा क्षेत्रफल रहेको पोखरीमा खुट्टाले प्याडल चलाएपछि डुँगा चल्छन्। चार सय रुपैयाँ तिरे पछि डुंगामा एक घण्टा विताउन पाइन्छ। एउटा डुंगामा चारै जना अटाउँछन्। यस हिसाबले एकजनाले सय रुपैयाँमा एक घन्टा बोटिङ गर्छ सक्छन्।

डुंगा किन्न तीन लाख ६० हजार रुपैयाँ खर्च भएको समितिका सचिव महेन्द्रप्रसाद तिमिल्सिनाले बताए। लाइफ ज्याकेटका लागि थप १३ हजार रुपैयाँ लाग्यो। चार लाख रुपैयाँमा पोखरीको आडमा बुद्ध मूर्ति बनाइएको छ। शारदानगरमै गुरुङ समुदायको बाक्लो बसोबास छ। मूर्ति वरपर कंक्रिटका ६ वटा कुर्सि छन्। त्यो बनाउन ४५ हजार रुपैयाँ खर्च भयो।

'रानीपोखरीको कुल क्षेत्रफल चार बिघा हो। पोखरी मात्रै दुई विघामा फैलेको छ' तिमिल्सिनाले भने। ०५९ सालमा शारदानगरका स्थानीय सोमप्रसाद गुरुङको अध्यक्षतामा संरक्षण समिति गठन भएको थियो। त्यसलेे चार विघामा तारबार गरेको थियो। त्यसपछि पोखरी वरपर पूर्वाधार निर्माणका काम सुरु भयो।

सदरमुकाम भरतपुरबाट १३ किलो मिटर परको रानीपोखरी गत वर्षदेखि चर्चामा आएको हो। पोहोर प्रस्तर (ढुंगाको) मूर्तिकला सम्बन्धि राष्ट्रिय कार्यशाला भएपछि रानीपोखरीले चर्चा पायो। ती कलाकारले बनाएका ढुंगाका २५ मूर्ति पोखरी वरपर राखिएको छ।

पोखरीको डिलमा ढलान गरेर बाटो बनाइएको छ। जस्ताले छाएका टहरा र मन्दिर तथा गुम्बा पनि छन्। ठाउँ–ठाउँमा फलामे कुर्सि छन्। 'घुम्न आउनेले धेरै आनन्द लिन सक्छन्। यो एउटा राम्रो पिकनिक स्पट हो। खानेपानी अभाव नहोस भनेर बोरिङ धसाएका छौं। चार तले भ्यु टावर बनाउँदै छौं' समितिका सुरेन्द्र अध्यक्ष गुरुङले भने।

Rani Pokhari - Sharadhanagar चितवनको जंगलमा सिकार खेल्न आउने राणा वा राजाहरुले नै पोखरी बनाएको गाउँलेको अनुमान छ। 'वरपर नौवटा थुम्का छन्। पोखरी कसैले खने जस्तो देखिन्छ। पानी सधै हुन्छ। कहिले बन्यो भन्न सकिदैन। सायद राणाकालमै बनेको होला' राजनीतिकर्मी तोपमानसिंह गुरुङले भने।

रातमा पनि पोखरी घुम्दा रमाइलो होस भनेर नगरपालिकाको सहयोगमा पाँचवटा सौर्य बत्ती राखिएको छ। पोखरीलाई जिल्लाकै नमुना पर्यटकीयस्थल बनाउने अभियानमा लागेको नगरपालिकाका कार्यकारी अधिकृत रामचन्द्र अर्यालले बताए। नगरपालिकाले त्यही अनुरुप सहयोग गर्दै आएको छ।

चित्रवन नगरपालिकाले आर्थिक वर्ष ०७२/७३ मा चार लाख रुपैयाँ सहयोग गरेको र चालु आर्थिक वर्षका लागि १६ लाख रुपैयाँ सहयोग गर्ने निर्णय नगर परिषदमा भएको अर्यालले बताए। पोखरी विकासको गुरुयोजना तयार छ। आउँदो आर्थिक वर्षका लागि करिब १३ लाख रुपैयाँ थप सहयोग नगरपालिकाबाट हुने अर्यालले बताए।

आकर्षक गन्तव्य, सुरेन्द्र गुरुङ, अध्यक्ष, रानीपोखरी संरक्षण समिति

शारदानगरमा ०१३ सालबाटै बसोबास सुरु भएको हो। वस्ती वस्नु पहिल्यै पोखरी थियो। बस्ती नहुँदै यति ठुलो पोखरी कसले खन्यो होला? कुनै राजा वा राणाले सिकार खेल्न आउँदा खन्न लगाएको अनुमानका आधारमा गाउँलेहरुले रानीपोखरी भन्दै आएका छौं। भरतपुरबाट सजिलै तालमा आउन सकिन्छ। यात्रु बस प्रशस्तै चल्छन्। साइकल चढेर पनि आउन सकिन्छ। निजी गाडी २० मिनेटमा आइपुग्छन्। भरतपुर बस्ने र निकुञ्ज घुम्न चाहने दुवैका लागि सुविधायुक्त ठाउँमा छ पोखरी। हामी पोखरीलाई आकर्षक गन्तव्य बनाउँछौं।

Rani Pokhari in Google Map

  • Rani Pokhari
  • Rani Pokhari
  • Rani Pokhari
  • Rani Pokhari
  • Rani Pokhari